Tuesday, December 23, 2025
गृहपृष्ठ

अमेरिकाभित्रै आक्रमणको चेतावनी: राष्ट्रपति ट्रम्पको असुरक्षित सहरहरूमा सैन्य प्रशिक्षणको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै आक्रमण हुने सम्भावनाबारे गम्भीर चेतावनी दिएका छन्। उनले यो खतरालाई विदेशी शत्रुभन्दा पनि जटिल बताउँदै भित्री सहरहरूलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा चित्रण गरेका छन्।

भर्जिनियाको क्वान्टिकोस्थित मरीन कर्प्स बेसमा मंगलबार शीर्ष अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हाम्रा भित्री सहरहरू अहिले युद्धक्षेत्र जस्ता बनेका छन्।” उनका अनुसार, यस्ता शत्रुहरू वर्दी नलगाउने भएकाले पहिचान गर्न कठिन हुन्छ।

ट्रम्पले रक्षामन्त्री पिट हेग्सेथलाई असुरक्षित सहरहरूलाई सैन्य र नेसनल गार्डको प्रशिक्षण मैदानका रूपमा प्रयोग गर्न निर्देशन दिएका छन्। उनले शिकागो, सान फ्रान्सिस्को, न्युयोर्क र लस एन्जलसजस्ता सहरहरूलाई ‘असुरक्षित’ भन्दै ती सहरहरूमा सुरक्षात्मक रणनीति अपनाउने प्रतिबद्धता जनाए।

“यो हाम्रो लागि प्रमुख युद्ध हो, जुन बाहिरबाट होइन, भित्रैबाट सुरु हुँदैछ,” ट्रम्पले जोड दिए।

यसअघि, सेप्टेम्बर २१ मा उनले वासिङ्टन डिसीमा अपराध दर घटेको दाबी गर्दै आफ्नो प्रशासनको ‘कडा नीति र सुशासन’लाई यसको कारण बताएका थिए।

यसैबीच, प्रशासनले अपराध नियन्त्रण र आप्रवासन नियन्त्रण योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरिरहेको एजेन्सीहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *