एन्टाको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण


एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले सुजित कुमार सिंहको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक साधारण सभाबाट कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन समितिको पहलमा दुई दिनको छलफल र सहमतिपछि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवगठित कार्यसमितिमा अध्यक्षको जिम्मेवारी सुजित कुमार सिंहलाई दिइएको छ। उपाध्यक्षमा विकास कुमार झा, महासचिवमा अन्जु शाह, संयोजकमा एमडी सैफुल्लाह, कोषाध्यक्षमा रञ्जित कुमार दास, सह–कोषाध्यक्षमा विनय कुमार यादव तथा जनसम्पर्क अधिकृतमा मनिष कुमार साह चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा राजेश यादव, रितेश कुमार महतो, सुजित कुमार साह, विशाल कुमार पण्डित, सुरज कुमार साह, नितेश मेहता, अजित कुशवाहा, विक्की कुशवाहा, प्रमिश महतो र नरेश कुमार साह रहेका छन्।
मंगलबार आयोजित कार्यक्रममा निर्वाचन समितिका तर्फबाट अरुण ठाकुर, सुवांस साह र अंगद मिश्राले नवनियुक्त पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए।
सपथ समारोहमा निर्वाचन आयुक्त अरुण ठाकुरले एन्टालाई एक परिवारको रूपमा व्याख्या गर्दै सबै सदस्यहरूलाई संस्थालाई आफ्नै ठानेर सक्रिय रूपमा योगदान दिन आग्रह गरे। सो अवसरमा एन्टाका निवर्तमान अध्यक्ष रञ्जित साहले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै समुदायको हित, संस्कृति संरक्षण र पहिचानको सवालमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नव–निर्वाचित अध्यक्ष सुजित कुमार सिंहले प्रवासमा करिब डेढ दशकदेखि आर्जन गरेको सामाजिक अनुभवलाई आगामी दुई वर्षे कार्यकालमा प्रयोग गर्दै संस्थालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा थारु समाज अष्ट्रेलियाका अध्यक्ष दीप नारायण चौधरी, नीम्फाका अध्यक्ष लक्ष्मण गुरुङ लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रमको सञ्चालन नव–निर्वाचित महासचिव अन्जु शाहले गरेकी थिइन्। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले अनलाइन माध्यमबाट शुभकामना सन्देश दिएकी थिइन्।
सामाजिक सेवा, सांस्कृतिक प्रवर्द्धन तथा समुदायका अधिकारका विषयमा सक्रिय एन्टा अष्ट्रेलिया प्रवासी नेपाली संस्थामध्ये एक स्थापित र भरोसायोग्य संस्थाको रूपमा परिचित छ। संस्थाले अष्ट्रेलिया मात्र होइन, नेपालमा पनि विभिन्न सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
