Tuesday, December 23, 2025
गृहपृष्ठ

एमाले विधान महाधिवेशन : प्रतिनिधि प्रवेशका लागि चार डिजिटल ढोका, क्यूआर कोड स्क्यान अनिवार्य

काठमाडौं, १९ भाद्र — नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। तयारी पूरा भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

महाधिवेशन स्थल र उपत्यकाभर पार्टीको प्रचारप्रसारलाई लिएर ब्यानर, फ्लेक्स, गेट र झण्डा टाँगिएको छ। सातदोबाटो, हात्तिवन, गोदावरी लगायतका ठाउँमा स्थानीय कमिटीहरूले विशेष स्वागतद्वार बनाएका छन्। भक्तपुर, चन्द्रागिरी र अन्य प्रवेशद्वारहरूमा पनि गेट र ब्यानर राखिएको छ।

यस महाधिवेशनमा २ हजार ३४ प्रतिनिधिसहित २ हजार ३ सय ४९ सहभागी रहनेछन्। “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य” नारासहित महाधिवेशन सञ्चालन हुनेछ।
राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले, विधान संशोधन प्रतिवेदन उपाध्यक्ष विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने कार्यक्रम छ। साथै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्का प्रतिवेदन पनि पेश गरिनेछन्।

विशेष व्यवस्था अनुसार, महाधिवेशन स्थल सनराइज हलमा प्रवेश गर्न चारवटा डिजिटल ढोका राखिएको छ। प्रतिनिधिहरूले आफ्नो परिचयपत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र भित्र पस्न पाउनेछन्।
महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *