Saturday, January 31, 2026
गृहपृष्ठ

चीनले अमेरिकाको भित्री भूभागसम्म आक्रमण गर्नसक्ने मिसाइलदेखि लिएर पानीमुनि संचालन हुने ड्रोनसम्मको प्रदर्शन गरेको छ ।

काठमाडौं । चीनले बुधबार आयोजित विजय दिवस परेडमा आफ्ना नयाँ सैन्य क्षमता र अत्याधुनिक हतियारहरू सार्वजनिक गरेको छ। दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गरेको ८०औं वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा सम्पन्न परेडलाई अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको छ।

परेडमा आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM) डोङफेङ-61 र DF-5C, स्टिल्थ फाइटर जेट J-20, 99B ट्याङ्क, र लेजर हतियार प्रविधि प्रदर्शन गरियो।

त्यसैगरी, HQ-19 इन्टरसेप्टर प्रणाली पनि देखाइएको थियो, जसले हावामा उड्ने क्षेप्यास्त्रहरू रोक्न सक्छ।

ड्रोन प्रविधिमा चीनले ठूलो शक्ति देखायो। परेडमा स्वचालित ड्रोन, ड्रोन विरोधी झुण्ड प्रणाली, ट्याङ्कमा जडान गरिएका ड्रोन प्लेटफर्महरू मात्र होइन, सबैको ध्यान खिच्ने चार खुट्टे ‘रोबोटिक कुकुर’ समेत देखाइयो। यी मेसिनहरूले जासुसी गर्न, आपूर्ति पुर्‍याउन र शत्रु विरुद्ध सटीक प्रहार गर्न सक्ने क्षमता राख्ने बताइएको छ।

यसबाहेक, चिनियाँ सेनाले AJAX-002 एक्स्ट्रा लार्ज अनक्रुड अन्डरवाटर भेहिकल (XLUV) पनि प्रदर्शन गर्‍यो। करिब १८ मिटर लामो यो विशाल पानीमुनि चल्ने ड्रोनले आणविक हतियार बोक्न सक्ने क्षमता राख्छ। यसलाई नौसेना आक्रमण, पनडुब्बी युद्ध तथा टोही अभियानमा प्रयोग गर्न सकिने जनाइएको छ।

चीनको यस परेडलाई विश्व समुदायले सैन्य शक्ति प्रदर्शन र ‘रणनीतिक सन्देश’को रूपमा हेरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *