जनकपुरधाम–२० मा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी
दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउने क्रममा तनाव, टहरा जलाइयो, अश्रुग्यास प्रहार
झडपको क्रममा आक्रोशित समूहले तेलिया पोखरीको किनारमा बनाइएको टहरामा आगजनी गरेको र केही घरहरूमा समेत आगजनीको प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिएका छन्।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुङ्गामुढाका कारण केही प्रहरी र स्थानीयवासी घाइते भएका छन्।
अवस्था नियन्त्रण बाहिर जान सक्ने सम्भावना देखिएपछि स्थानीय प्रशासनले आज साँझ ६:३० बजेदेखि वडा नम्बर २० का विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले सर्वसाधारणलाई उक्त क्षेत्रमा नजाने र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
यो घटना केही महिनाअघि भदौ दोस्रो सातामा भएको झडपपछि फेरि दोहोरिएको हो। त्यसबेला गणेश पूजाको मूर्ति विसर्जनको क्रममा पनि दुई समुदायबीच विवाद उत्पन्न भई ढुङ्गामुढा र झण्डा हटाउने विवाद भएपछि प्रशासनले सर्वपक्षीय बैठक बोलाएको थियो।
भदौ १६ गते बसेको उक्त बैठकमा दुवै पक्षबीच सद्भाव कायम गर्ने र आगामी समयमा यस्ता घटना दोहोरिन नदिने सहमति भएको थियो। तर, आज पुनः तनाव उत्पन्न भएपछि स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको छ।
प्रहरीले अहिले क्षेत्रलाई नियन्त्रणमा लिएको छ र थप बल प्रयोग नगरी स्थिति सामान्य पार्न प्रयास भइरहेको जनाएको छ। प्रशासनले शान्ति सुरक्षामा सहयोग गर्न स्थानीयवासीलाई अनुरोध गरेको छ।
