Saturday, January 31, 2026
गृहपृष्ठ

जेन–जी आन्दोलनपछि राजनीतिक अविश्वास तोड्न प्रधानमन्त्री कार्की सक्रिय, शीर्ष तीन नेतासँग महत्वपूर्ण छलफल हुने

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख दलहरूबीच चलिरहेको अविश्वास, आरोप–प्रत्यारोप र समन्वयहीनताको बीच प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक वातावरण सहज बनाउने पहल शुरू गरेकी छन् । देश २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ ध्यान केन्द्रित गरिरहेको बेला प्रधानमन्त्रीले प्रमुख तीन दलका शीर्ष नेतासँग महत्वपूर्ण छलफल गर्ने तयारी अघि बढाएकी हुन्।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीसमेत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त भेटघाट गर्ने योजना बनाएकी छन्।
पहिलो चरणमै संयुक्त बैठक गर्ने तयारी भए पनि मिति भने अझै टुंगो लागेको छैन। प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबारसम्म औपचारिक आमन्त्रण पठाइनेछ, र योजना अनुसार यही साता भेटघाट हुने सम्भावना उच्च छ।

जेन–जी आन्दोलनपछि चरम अविश्वास ⁄ संवादहीनता

जेन–जी आन्दोलनले पुरानो राजनीतिक नेतृत्वमाथि उठेको आक्रोशका कारण प्रमुख दलका नेताहरू सत्ताबाट विस्थापित भएका थिए। त्यसयता प्रधानमन्त्री र शीर्ष नेताबीच संवाद न्यून रहेको भन्दै दलहरूले सार्वजनिक रूपमा असन्तोष पोख्दै आएका छन्।
उता, प्रधानमन्त्रीतर्फबाट पनि दलहरूको स्पष्ट र जिम्मेवार धारणा नआएको हुनाले २१ फागुनको निर्वाचनबारे अझै राजनीतिक रूपमा ‘अनिश्चितता’ कायम रहेको विश्लेषणहरू भइरहेका छन्।

निर्वाचनमा विश्वासको वातावरण बनाउने उद्देश्य

प्रधानमन्त्री कार्कीले शीर्ष तीन नेतासँगको छलफलको प्रमुख एजेन्डा “विश्वासको वातावरण निर्माण” रहेको सचिवालयले जनाएको छ।
अन्तरिम सरकार बनेदेखि जारी तनाव र आरोपबीच जनतामा फैलिएको राजनीतिक भ्रम हटाई दलहरूलाई एक ठाउँमा ल्याएर निर्वाचन सहज बनाउने प्रधानमन्त्रीको मुख्य लक्ष्य रहेको बताइएको छ।

विशेषगरी एमालेले प्रधानमन्त्री र अन्तरिम सरकारप्रति कडा आलोचना गर्दै आएको छ—

“संवैधानिक हैसियत कमजोर छ,”

“चुनावी वातावरण तयार गर्न सरकार असफल छ,”
जस्ता आरोपलगाउँदै आएको एमाले नेतृत्वसँगको संवाद प्रधानमन्त्रीका लागि महत्वपूर्ण चुनौती मानिएको छ।


अन्य दलहरूसँग पनि क्रमशः संवाद

शीर्ष तीन नेतासँगको संयुक्त छलफलपछि अन्य दलका अध्यक्ष तथा प्रतिनिधिहरूसँग पनि बैठक गर्ने गरी व्यापक राजनीतिक परामर्शको कार्यसूची बनाइएको छ।
सरकारले यस्तै निरन्तर संवाद र निष्पक्ष वातावरणमार्फत २१ फागुनको निर्वाचन सामान्य ढंगले सम्पन्न हुने अपेक्षा व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *