प्रत्यक्ष मात्रै प्रतिस्पर्धा गर्ने दल बढे, समानुपातिकतर्फ केही दल बाहिर

आगामी निर्वाचनमा मतदाताले अघिल्ला निर्वाचनझैं दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यतया राजनीतिक दलहरू मिश्रित निर्वाचन प्रणालीअन्तर्गत दुवै प्रणालीमा सहभागी हुने मान्यता भए पनि यसपटक केही दलहरू भने प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै सीमित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन १०० राजनीतिक दलले दर्ता गराएका छन्, जसका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ। यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कूल ११४ राजनीतिक दल दर्ता भएका छन्।
आयोगका अनुसार तोकिएको कार्यविधि पूरा गरी १०२ राजनीतिक दल र राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल चुनाव चिन्ह लिएर १२ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन्।
प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै सहभागी हुने दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी रहेका छन्।
त्यसैगरी राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी र सर्वोदय पार्टी नेपाल पनि प्रत्यक्ष निर्वाचन प्रणालीमै सीमित हुने भएका छन्।
समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय राजनीतिक दलहरूले अन्य दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ भाग लिने तयारी गरेकाले छुट्टै दल दर्ता नगरेका हुन्।
आगामी निर्वाचनमा दलहरूको सहभागिताको स्वरूप फरक–फरक देखिन थालेसँगै राजनीतिक समीकरण र मत विभाजनले कस्तो परिणाम ल्याउने हो भन्ने चासो बढ्दै गएको छ।
