प्रधानसेनापति सिग्देलद्वारा पूर्वप्रधानसेनापतिसँग पछिल्लो परिस्थितिबारे छलफल

सेनाका अनुसार, असोजको पहिलो हप्तामा जङ्गी अड्डामा आयोजित उक्त छलफल तथा अन्तरक्रियामा पूर्वप्रधानसेनापतिहरूको सहभागिता रह्यो। बैठकमा हाल देखिएका सुरक्षा चुनौती, राष्ट्रिय हितसँग सम्बन्धित विषय र सेनाको रणनीतिक तयारीबारे विस्तृत कुराकानी भएको बताइएको छ।
यससँगै बिहीबार सेनाको वार्षिक कार्यतालिका अनुसार पृतनापति समन्वयात्मक बैठक–२०८२ पनि सम्पन्न भएको छ। उक्त बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति रहेको थियो भने सातै प्रदेशका पृतनापतिहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए।
बैठकमा विभागीय प्रमुखहरू र पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्यसम्पादनको समीक्षा र सुधारका सुझावहरू प्रस्तुत गरेका थिए।
बैठकको समापन गर्दै प्रधानसेनापति सिग्देलले देशको सुरक्षा अवस्था, सेनाको कार्यक्षमता र सहकार्य सुदृढीकरणमा जोड दिएका थिए। बैठकको प्रारम्भमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले स्वागत मन्तव्य राखेका थिए।
नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार वर्षमा दुई पटक पृतनापति समन्वयात्मक बैठक आयोजना गर्ने परम्परा रहेको जनाएको छ।
