बर्दियामा नागरिकता अभावका कारण बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत लेख्दै भनेकी छन्, “न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था सिर्जना भएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु।” उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाहीका लागि निर्देशनसमेत दिएकी छन्।
घटनाको पृष्ठभूमि
बढैयाताल–४, बर्दियाकी २२ वर्षीया अन्जु थारुले नागरिकता बनाउन बारम्बार प्रयास गरे पनि स्थानीय तह र प्रशासनले सहयोग नगरेपछि कात्तिक २२ मा आत्महत्या गरेकी थिइन्।
अदालतले श्रीमानबाट पाएको अंश उनको नाममा आउने आदेश दिए पनि नागरिकता नहुँदा कानुनी प्रक्रिया अघि बढ्न सकेन। नागरिकता नबनेका कारण उनले सात वर्षीया छोरीको जन्मदर्ता समेत गराउन पाइनन्। वडा कार्यालयले ‘बुबाको नागरिकता अनिवार्य’ भन्दै जन्मदर्ता रोकिदियो।
माइतीतिरबाट नागरिकता बनाउने प्रयास गर्दा जिल्ला प्रशासन कार्यालयले रोक लगाएपछि अन्जुले अन्ततः जीवन समाप्त गर्ने निर्णय लिएकी थिइन्।
छोरीको मृत्युको शोक र निराशामा परेका उनका ६१ वर्षीय बाबु कान्छा थारुले पनि चार दिनपछि आत्महत्या गरेका थिए।
गम्भीर प्रशासनिक बेथितिको संकेत
यो घटनाले देशभर नागरिकता, जन्मदर्ता तथा न्यायिक प्रक्रियामा रहेको कमजोरी उजागर गरेको छ। स्थानीय तहको अवरोध, प्रशासनिक असहयोग र कानुनी प्रावधानको गलत व्याख्याका कारण एकै परिवारका दुई जनाको ज्यान गुमाउनु परेपछि सरकारमाथि कठोर प्रश्न उठेको छ।
प्रधानमन्त्रीको माफीसहित छानबिनको आदेशले घटनाको वास्तविकता उजागर हुने अपेक्षा गरिएको छ।
— Birgunj Updates
