यति ठूलो विध्वंशपछि पनि नचेतेका देउवा, ओली र प्रचण्ड

प्रधानमन्त्री ओली अहिले नेपाली सेनाको कडा सुरक्षा घेरामा भए पनि उनको वास्तविक अवस्थाबारे केही सार्वजनिक गरिएको छैन। आठ लाख सदस्य भएको दाबी गर्ने एमालेले समेत आफ्नै अध्यक्षको खोजीमा चासो नदेखाउनु ठूलो प्रश्न बनेको छ।
दोस्रोपटक दुई तिहाइको सरकार सञ्चालन गरेका ओलीलाई अन्ततः बालुवाटारबाटै लखेटिनु परेको र देशैभरि उनीसँग जोडिएका सम्पत्ति, निवास र संरचनाहरू खरानीमा परिणत हुनु ओलीमाथिको जनआक्रोशको स्पष्ट संकेत भएको विश्लेषण गरिएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी गंगा दाहालको निवास तथा पेरिसडाँडास्थित पार्टी कार्यालयसमेत जोगिन सकेन। सुरक्षाकर्मीहरू र आफ्ना कार्यकर्तामध्ये कसैले पनि प्रतिकारमा उत्रन नसक्नु उनीहरूप्रति जनसमर्थन कति खस्किसकेको छ भन्ने देखाएको विश्लेषकहरूको टिप्पणी छ।
यो विध्वंशको क्रममा छिमेकीहरूले समेत मौनता अपनाउनु र स्थानीय बासिन्दाले ‘फलानाको घर यही हो’ भनेर देखाउन पुग्नु विगतका आन्दोलनसँग ठ्याक्कै विपरीत देखिएको छ। २०४६ देखि २०६३ का आन्दोलनमा स्थानीयले नेताहरूलाई आश्रय दिने वा आन्दोलनकारीलाई पानी खन्याएर सहयोग गर्ने परम्परा यसपटक हराएको छ।

तर अहिले पनि यी नेताहरूले जनतासँग माफी माग्ने वा जिम्मेवारी लिने संकेत नदेखाउनु जनआक्रोश अझ गहिरो बनाउँदै लगेको छ। प्रश्न भनेको अब—
के यी नेताहरू अझै पनि पद र स्वार्थका लागि अड्डी कसी रहन्छन्, वा जनताको विश्वास पुनःआर्जन गर्ने आत्मसमीक्षा गर्छन्?
