Tuesday, December 23, 2025
गृहपृष्ठ

रवि छुट्ने सम्भावना : प्रचण्डलाई बढ्दो चिन्ता


रवि लामिछाने जेलमुक्त भएर पुनः सक्रिय राजनीतिमा फर्किए भने सबैभन्दा बढी चुनौती माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्ने प्रस्ट देखिन्छ । किनभने, नेपाली कांग्रेस र नेकपा एमाले जुनसुकै अवस्थामा पनि पहिलो वा दोस्रो दल बनेर रहने निश्चित छ । आकार सानो–ठूलो भए पनि मुख्यधारा उनीहरुकै हातमै रहन्छ ।

यदि रास्वपाले असाधारण नतिजा निकालेर पहिलो दल बन्न पनि सफल भयो भने त्यसपछिका स्थानमा कांग्रेस र एमाले नै रहनेछन् । तर, प्रचण्ड नेतृत्वको माओवादी भने आगामी निर्वाचनमा अरूको काँध टेक्ने अवस्था गुमाउने निश्चित छ । अघिल्लो चुनावमा जससँग गठबन्धन गर्दा फाइदा हुन्छ त्यहीसँग हातेमालो गर्ने शैली अब टुंगिने देखिएको छ । कांग्रेस वा एमाले दुबै अब माओवादीलाई सहयोग गर्ने सम्भावना न्यून छ, बरु उनीहरू आफ्ना मत सुरक्षित गर्न हरेक क्षेत्रमा आफ्ना उम्मेदवार उतार्ने तयारीमा हुनेछन् ।

यही कारणले प्रचण्डका लागि रवि सबैभन्दा ठूलो टाउको दुखाइ बन्न पुगेका छन् । रविको लोकप्रियतालाई रोक्नकै लागि उनलाई लामो समय जेलमै राख्ने रणनीति अपनाइएको भन्ने आरोप प्रचण्डमाथि लागेको छ । कतिपयले त रविको थुनाइ प्रचण्डकै योजना अन्तर्गत भएको दाबीसमेत गरेका छन् ।

राजनीतिक वृत्तमा प्रचण्ड र गृहमन्त्री रमेश लेखकबीच देखिने अघोषित समझदारी पनि चर्चामा छ । यसले कांग्रेसभित्रका नेताहरू—पूर्णबहादुर खड्का र बालकृष्ण खाँणजस्ता गृह–सुरक्षासम्बन्धी अनुभव भएका नेताहरूलाई समेत अचम्मित तुल्याएको छ ।

तर, अदालतमा रविले बिगो तिर्ने प्रक्रिया पुरा गरिसकेपछि उनलाई लामो समय थुनामा राख्न कठिन भएको छ । अब जिल्ला अदालत नभए पनि उच्च वा सर्वोच्च अदालतमार्फत छाडिने सम्भावना प्रबल छ । यही कारणले प्रचण्डलाई थप दबाब बढेको देखिन्छ ।

राजनीतिक जीवनमा पटक–पटक रंग फेर्ने चरित्र देखाएका प्रचण्ड अहिले पनि रवि प्रकरणलाई आफ्ना पक्षमा उपयोग गर्न खोजिरहेका छन् । बाहिर भने रविको पक्षमा बोल्छन्, तर भित्रभित्रै उनलाई नियन्त्रणमा राख्ने दाउमा लागिरहेका छन् भन्ने बुझाइ धेरैलाई छ ।

तर, रविका समर्थकहरू प्रचण्डप्रति सकारात्मक हुने सम्भावना न्यून छ । रास्वपाका कार्यकर्ता जागरुक र चेतनशील मानिएका कारण उनीहरू प्रचण्डको शैलीलाई बोक्ने मनोवृत्ति राख्दैनन् । दशकौंअगाडि प्रचण्डका क्रान्तिकारी नाराले आकर्षित गरिएका युवाहरू आज निराश बनेर भड्किएका छन्, जबकि प्रचण्ड परिवार सत्ता र सम्पत्तिको मजा लिइरहेको तीतो सत्य उनीहरूले देखेका छन् ।

यसैले, रास्वपा एउटा असन्तुष्ट भीडबाट बनेको होइन, बरु नयाँ चेतना बोकेका वर्गले अगाडि बढाएको पार्टी हो भन्ने विश्वास उनीहरूको छ । यही चेतनाले गर्दा प्रचण्डको ‘रणनीतिक राजनीति’ आगामी चुनावमा निर्णायक चुनौतीमा पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *