Tuesday, December 23, 2025
गृहपृष्ठ

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं, १९ भदौ ।
नेपाल पत्रकार महासंघ (FNJ) ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त निर्णयलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचना पाउने अधिकारमाथि ठाडो प्रहार भएको ठहर गरेको छ।

नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जालहरुलाई बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयबारे महासंघले गहिरो असहमति प्रकट गर्दै विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा भनिएको छ, “कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पर्ने, नागरिकको सूचना पाउने हकमा समेत असर पर्ने र लोकतन्त्रकै आधारशिलामा धक्का पुग्ने सम्भावना छ।”

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा रहे पनि त्यसका नाममा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कदम कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा तत्काल सामाजिक सञ्जालमा लगाइएको नियन्त्रण हटाउन माग गरिएको छ। साथै नागरिकको सूचना पाउने हक, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *