एमाले विधान महाधिवेशनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भावुक पत्र : “म सदस्यता नवीकरण गरिसकेको हुँ, किन प्रश्न उठाइयो ?”

गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । सो निर्णयपछि उनको पार्टीभित्र पुनः सक्रिय हुने सम्भावना तत्कालका लागि टरेको थियो ।
यसै सन्दर्भमा उनले पार्टी सदस्यतामाथि उठाइएको प्रश्नलाई अस्वीकार गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई पत्र लेखेकी हुन् । भण्डारीले लेखेकी छन् –
“मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजित भए, तर त्यतिबेला मेरो सदस्यताको सवालमा कुनै प्रश्न उठेन । अहिले मात्र किन विवादमा पारियो ? आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति मात्र होइन, पार्टीकै भविष्यका लागि गम्भीर बनेको छ ।”
भण्डारीले आफ्नो २०३७ सालमा प्राप्त सदस्यता पार्टीप्रति रहेको गहिरो आस्था र विश्वासको प्रतीक भएको स्मरण गराउँदै त्यसमा कुठाराघात गर्ने प्रयास भएको उल्लेख गरेकी छन् । उनले आफू मुलुकको राष्ट्रपतिमा निर्वाचित भई जिम्मेवारी पूरा गरेर पुनः पार्टीमा संलग्न भएर अघि बढ्न चाहेको तर सदस्य हुनबाट रोक्ने प्रयास हुनु दुःखद भएको बताएकी छन् ।
उनले पत्रमा थप लेखेकी छन् –
“यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । तपाईंहरूले यसलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ र दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।”
भण्डारीले पार्टी नेतृत्वका केही व्यक्तिले आफ्नो सदस्यतामाथि प्रश्न उठाएर अन्योल र भ्रम सिर्जना गरेको आरोपसमेत लगाएकी छन् । उनले यस्तो प्रवृत्ति जबज (जनताको बहुदलीय जनवाद) को मूल भावना र लोकतान्त्रिक संस्कृतिसँग मेल नखाने बताउँदै पार्टीले आफ्नो निर्णय सच्याउनुपर्ने माग गरेकी छन् ।
भण्डारीको भनाइमा, यो विवाद केवल व्यक्तिगत नभई सम्पूर्ण पार्टी सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग गाँसिएको विषय हो । उनले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन महाधिवेशनका प्रतिनिधिहरूले आफ्नो आग्रहलाई गम्भीरतापूर्वक लिनुपर्ने अपेक्षा व्यक्त गरेकी छन् ।
भण्डारीको यस पत्रले विधान महाधिवेशनमा थप बहस र राजनीतिक तरंग ल्याउने अनुमान गरिएको छ ।
