प्रधानमन्त्री कार्की : ‘जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध’

संविधान दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरूलाई सबै पुस्ताको साझा अपेक्षा र राष्ट्रिय एजेण्डा भएको उल्लेख गरिन् । कार्कीले भनिन् – “यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ।”
उनले सूचना प्रविधिमा भएको विकास र नागरिकमैत्री शासन प्रणालीप्रति सजग युवा पुस्ताले उठाएका रोजगारी, सुशासन र पारदर्शिताजस्ता मुद्दा आफ्नो प्राथमिकतामा रहेको पनि स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले आफू शासकिय आकांक्षा वा पदको लोभमा नभई देश संकटका बेला युवाको अनुरोधमा अन्तरिम सरकारको नेतृत्व लिन आएको बताइन् । संविधानअनुसार आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।
