महोत्तरीको बर्दिबासमा क्षयरोगी बढे, १३ महिनामा १४५ जना नयाँ बिरामी

नगरपालिकाका १४ वडामध्ये वडा नं ८ बढी प्रभावित देखिएको छ । हातीलेट टोलबस्तीमा मात्रै २२ जना नयाँ क्षयरोगी भेटिएका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानका अनुसार बर्दिबास–७ र ११ मा हालै तीन जनाको मृत्यु भएपछि सघन जाँच (स्क्रिनिङ) अभियान सुरु गरिएको हो ।
बर्दिबास–८ मा सञ्चालित शिविरमा अत्याधुनिक प्रविधिबाट १२३ जनाको खकार र रगत परीक्षण गरिएकोमा २८ जनामा क्षयरोगको शंका देखिएको छ । ती शंकास्पद नमुना प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको जनाइएको छ । शिविर बागमती सेवा समाज र नगर स्वास्थ्य शाखाले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
स्वास्थ्यकर्मीका अनुसार हातीलेट क्षेत्रमा मगर र तामाङ समुदायको सघन बसोबास छ । घरेलु मदिरा सेवन, स्वास्थ्य सचेतनाको कमी र पौष्टिक आहारको अभावले यहाँ क्षयरोग बढेको आकलन गरिएको छ ।
नेपाल सरकारले सन् २०५० भित्र देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको भए पनि हरेक वर्ष नयाँ बिरामी थपिँदा सो संकल्प चुनौतीपूर्ण बन्दै गएको छ । तथापि, यस्ता शिविरमार्फत रोग पहिचानमा सजिलो हुने र उपचार समयमै सुरु गर्न सकिने भएकाले यसलाई सकारात्मक कदमका रूपमा लिइएको छ ।
