Wednesday, January 14, 2026
गृहपृष्ठ

रास्वपा–उज्यालो नेपाल पार्टीबीचको एकता सहमति भंग, नाम परिवर्तन र पदको प्रस्ताव मुख्य विवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीबीच लामो समयदेखि अगाडि बढिरहेको एकता प्रक्रिया अन्ततः भंग भएको छ। दुवै पक्षबीच भएका पछिल्ला छलफल निष्कर्षविहीन भएपछि एकता सहमति औपचारिक रूपमा टुटेको स्रोतहरूले जनाएका छन्।
रास्वपा नजिकका नेताहरूका अनुसार उज्यालो नेपाल पार्टी पक्षबाट पार्टी एकतापछि रास्वपामा वरिष्ठ उपसभापतिको जिम्मेवारी प्रदान गर्नुपर्ने र पार्टीको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव आएको थियो। यस विषयमा रास्वपा नेतृत्व सहमत हुन नसकेपछि एकता प्रक्रिया अघि नबढ्ने अवस्था सिर्जना भएको हो।
एकता प्रक्रियालाई टुङ्ग्याउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहितका व्यक्तित्वहरूको सहभागितामा पटक–पटक छलफल भए पनि अन्तिम सहमति जुट्न नसकेको रास्वपा स्रोतले जनाएको छ। प्रारम्भिक चरणमा सकारात्मक संकेत देखिए पनि पद, संरचना र पार्टी पहिचानसम्बन्धी शर्तहरूमा साझा सहमति नबनेपछि वार्ता अवरुद्ध भएको बताइएको छ।
यससँगै रास्वपा र उज्यालो नेपालबीच सम्भावित राजनीतिक सहकार्य र वैकल्पिक शक्तिको एकीकृत अभियान नजाने निश्चित भएको छ। आगामी राजनीतिक गतिविधि र रणनीतिबारे भने दुवै पक्षले आ–आफ्नो धारणा पछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *