Gen-Z आन्दोलन : हिजो जारी गरिएको प्रेस विज्ञप्तिमा आन्दोलन निरन्तर रहने स्पष्टोक्ति, आज देशव्यापी श्रद्धाञ्जली सभाको आह्वान

काठमाडौँ, भदौ २४ ।
भ्रष्टाचारविरुद्ध राष्ट्रिय आन्दोलनले हिजो (भदौ २३ गते, सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण ढंगले निरन्तर जारी रहने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण कार्यक्रममा अराजकता मच्चाउने प्रयास भए पनि त्यसले आन्दोलनलाई असफल बनाउन सक्दैन। भ्रष्टाचार र बेथितिविरुद्धको यो संघर्ष केबल युवामात्र नभई सम्पूर्ण नेपाली जनताको सम्मानसँग जोडिएको भन्दै सरकारले गरेको दमनको कडा विरोध गरिएको छ।
आन्दोलनका क्रममा घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिँदै श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै आन्दोलनलाई अझ सशक्त बनाउन युवाहरू दिनप्रतिदिन तयार भइरहेको र परिवर्तनलाई रोक्ने प्रयास सफल नहुने विज्ञप्तिमा उल्लेख छ।
भोलि श्रद्धाञ्जली सभा
विज्ञप्तिमा भदौ २४ गते (मंगलबार) देशभरका प्रत्येक स्थानमा शहीद भएका वीर युवाहरूको आत्माको चिरशान्तिको लागि श्रद्धाञ्जली सभा आयोजना गर्ने आह्वान गरिएको छ। अन्य कार्यक्रमबारे आवश्यक जानकारी क्रमशः सार्वजनिक गरिने बताइएको छ।
विज्ञप्तिमा कार्यक्रम संयोजक पुष्करनाथ यादव र सबल गीर्तामगरको हस्ताक्षर रहेको छ।
