सामाजिक सञ्जाल दर्ता गर्ने अन्तिम दिन आज, सरकारको कडाइ सुरु

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिने समयावधि बुधबार सकिएको छ । तर अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालक कम्पनीले नेपालमा दर्ता गर्न आवेदन नदिएको सरकारको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार बुधबार कार्यालय समय सकिँदासम्म कुनै पनि सञ्जालले निवेदन दिएको छैन । उनले भने, “हामीले दिएको समय १२ बजेसम्म हो, ५ बजे कार्यालय बन्द भए पनि आधिकारिक इमेलमार्फत निवेदन दिन सकिन्छ । तर, सूचीकरणमै नआउने वा सम्पर्कमा नआउनेलाई भने बन्द गर्ने निर्णय हुन्छ ।”
कुन कुन सामाजिक सञ्जाल बन्द हुने ?
सरकारले पहिलो चरणमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, लिङ्क्डइन जस्ता ‘विशुद्ध सामाजिक सञ्जाल’लाई लक्षित गरेर प्रतिबन्ध गर्ने तयारी गरेको छ ।
गुगल, जीमेल, युट्युब वा सर्च इञ्जिन सेवामात्र दिने प्लेटफर्म तत्कालै बन्द नहुने मन्त्रालय स्रोतको भनाइ छ ।
कार्यालय खोल्नैपर्ने होइन
मन्त्रालयले नेपालमै कार्यालय खोल्नुपर्ने वा प्रत्यक्ष उपस्थित हुनुपर्ने भनेको छैन । जुनसुकै माध्यमबाट भए पनि सूचीकरण गर्न सकिने, संवाद गर्न चाहेको तर कम्पनीहरूले चासो नदेखाएको मन्त्रालयको आरोप छ ।
अबको बाटो
मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणबीच सञ्जाललाई कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । सरकारले सामाजिक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर चरणबद्ध रूपमा प्रतिबन्ध गर्ने रणनीति बनाएको हो ।
नेपालमा हाल प्रयोगमा रहेका फेसबुक, ट्वीटर, इन्स्टाग्राम, लिङ्क्डइन, भाइबर, थ्रेड्सलगायत कुनै पनि कम्पनीले दर्ता प्रक्रिया पूरा नगरेका कारण निकट भविष्यमै ती बन्द हुन सक्ने संकेत मिलेको छ ।
