Tuesday, December 23, 2025
गृहपृष्ठ

काठमाडौं महानगरले डेङ्गी नियन्त्रणमा सचेतना अभियान तीव्र पार्‍यो, नागरिकलाई घरघरमै पहल गर्न आग्रह

काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सतर्क रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाका सबै ३२ वटै वडामा डेङ्गी संक्रमितको संख्या बढिरहेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालका अनुसार, डेङ्गी नियन्त्रणका लागि सरकार मात्र होइन, प्रत्येक नागरिकले घरमै पहल गर्नुपर्ने हुन्छ । “घरभित्रका गमला, ड्रम वा पानीका ट्याङ्की नै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेका छन्,” उनले बताए ।

कामपाले लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने र सरसफाइ अभियानलाई निरन्तरता दिएको छ । साथै, विद्यालय–विद्यालय पुगेर बालबालिकामार्फत सचेतना फैलाउने कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

डेङ्गी भाइरस एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सार्ने गर्छ, जसले सफा पानी जम्ने ठाउँलाई प्रजनन स्थल बनाउँछ । विशेषगरी वर्षाको पानी जम्मा हुने बोतल, थोत्रो टायर, ट्याङ्की, ड्रम र गमलामा यसले लार्भा बनाउँछ ।

कामपाले नागरिकलाई पानी जम्न नदिन, घर वरपर सरसफाइ राख्न र “खोज र नष्ट गर” अभियानमा सक्रिय सहभागी हुन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *