काठमाडौंमा राप्रपा प्रवक्ता शाहीद्वारा बालेनलाई ‘जेन जी’ आन्दोलनको नेतृत्व गर्न आग्रह

सोमबार भएको सरकारी दमनलाई उनले ‘नरसंहार’ को संज्ञा दिँदै स्थापित राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र व्यक्तित्वले अबको आन्दोलन अगाडि बढाउनुपर्ने संकेत गरेका हुन्।
सामाजिक सञ्जालमार्फत् शाहीले प्रमुख शाहलाई सम्बोधन गर्दै लेखेका छन्– “आजको रात देशका लागि बलिदान दिने जेन जीका लागि जागौं।”
शाहीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाले मात्र समाधान नहुने दाबी गर्दै उनीहरूलाई ‘नरसंहारको मुद्दा’ मा पक्राउ गरी जेल पठाउनुपर्ने माग पनि गरेका छन्।
‘जेन जी’ आन्दोलनमा प्रहरीले गरेको बल प्रयोग र त्यसक्रममा युवाहरूको मृत्यु भएपछि देशभर आक्रोश बढेको छ। स्वतन्त्र उम्मेदवारको रूपमा युवाको ठूलो समर्थन पाएर निर्वाचित भएका बालेन शाहले यो आन्दोलनको नेतृत्व गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा समेत उठ्न थालेको छ।
