Tuesday, December 23, 2025
गृहपृष्ठ

ब्रेकिङ न्यूज: राष्ट्रपति पौडेलको तयारी– सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्ने लगभग निश्चित

काठमाडौं– हालैको राजनीतिक संकटका बीच राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शीर्ष संविधानविदहरुसँग लामो परामर्श गरेका छन्। परामर्शपछि प्राप्त सुझावअनुसार आन्दोलनरत जेन–जी पुस्ताको मागलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दिएको छ।

शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्न पुगेका संविधानविद्हरुमा भीमार्जुन आचार्य, विपीन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, सूर्य ढुंगेल, ललितबहादुर बस्नेतलगायत रहेका थिए। उनीहरुले केही घण्टा लामो छलफलपछि साँझ ८ बजेतिर निवास छाडेका थिए।

‘आन्दोलनकारी युवाहरुको भावनाको कदर गर्दै अन्तरिम सरकारमा उनीहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने सुझाव राष्ट्रपतिलाई दिएका छौं,’ भेटेर फर्केका एक संविधानविदले भने।

यसैबीच शीतल निवास जलेको समाचारबारे प्रश्न गर्दा उनीहरुले स्पष्ट पारेका छन्– “निवासको अगाडिको भाग मात्र जलेको रहेछ तर नयाँ भवन सेनाले सुरक्षित पारेको रहेछ। त्यही भवनमा नै राष्ट्रपतिसँग हाम्रो भेट भएको हो। राष्ट्रपति सुरक्षित हुनुहुन्छ, सेनाको नियन्त्रणबारे बाहिर आएका हल्ला आधारहीन हुन्।”

संविधानविद्हरुका अनुसार नयाँ पुस्ताले दलका नेताहरुलाई अस्वीकार गरेका कारण राष्ट्रपति पौडेलले दलभन्दा बाहिरको स्वतन्त्र व्यक्तिलाई नेतृत्व दिन खोजेका हुन्।

यदि सबै योजना अनुसार अघि बढेमा भोलिसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ।
उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्ने ऐतिहासिक रेकर्ड बनाउनेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *