Tuesday, December 23, 2025
गृहपृष्ठ

ठूला दलहरूको अहंकारकै कारण देश संकटमा : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भनिने दलहरूको अहंकारकै कारण आज देश भयानक परिस्थितिमा आइपुगेको आरोप लगाएका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले तत्कालीन अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेको स्वाभिमानले नै देश यो अवस्थामा पुगेको बताएका हुन्।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा पूर्ण समानुपातिक निर्वाचन प्रणालीप्रति माओवादीले निरन्तर वकालत गर्दै आएको स्मरण गराउँदै हालैको जेन-जी आन्दोलनले यसको ऐतिहासिक पुष्टि गरेको बताए।

उनले संविधान संशोधनमार्फत आगामी १० वर्षभित्र जनताले चाहेअनुसार नयाँ संरचना निर्माण गर्न सकिने आधार बनेको उल्लेख गरे। साथै, उनले उत्पीडित वर्ग तथा समुदायलाई अधिकार दिलाएकोमा गर्व गर्नुपर्ने बताए।

कार्यक्रममा प्रचण्डले संविधानसभा, सुशासन र भ्रष्टाचारविरुद्धको नेतृत्वलाई भ्रष्टाचारीसँग तुलना गर्ने प्रवृत्तिलाई जनताप्रति विश्वासघातको संज्ञा दिए।

जेन-जी आन्दोलनबारे प्रचण्डले भाद्र २४ गतेका घटनामा घुसपैठ तथा डिजाइनका कारण विनाशकारी गतिविधि मच्चिएको दाबी गरे।

यस्तै, उनले अन्तरिम सरकार गठनको प्रक्रियामा गएर भएपनि संविधान निर्माणमा राष्ट्रपतिको भूमिका प्रशंसनीय भएको र प्रधानसेनापतिको भूमिका पनि सकारात्मक देखिएको बताए।

अन्त्यमा प्रचण्डले घोषित मितिमै निर्वाचन गरि जेन-जी आन्दोलनको भावनाअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको बाटो संविधानमै खुलोस् भन्ने चाहना व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *