मधेशमा सत्ता संकट : मुख्यमन्त्री सिंहको राजीनामा नाटक र संघीयता बचाउने दाउ

२४ भदौमा पार्टी अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका सिंहले केही दिनमै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाउन पाएनन् । प्रदेश प्रमुख काठमाडौंमै रहेकाले प्रक्रिया अड्किएको थियो ।
यसबीचमा जनमत संसदीय दलका नेता महेश यादवले समर्थन फिर्ता लिएको घोषणा गर्दै मुख्यमन्त्री सिंहलाई ‘पद लोलुप’ भएको आरोप लगाएका छन् । पार्टीले निष्कासन प्रक्रियासम्म अघि बढाए पनि सिंहले गठबन्धन (एमाले, कांग्रेस, लोसपा) को साथमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।
सिंहले राजीनामाबाट पछि हट्दै संविधान दिवस समारोहमा संघीयता जोगाउन आफू पदमै रहने स्पष्ट गरेका छन् । तर, जनमत पार्टी भित्रै असन्तुष्टि चुलिएको छ ।
राजनीतिक विश्लेषकहरूले मधेशको सत्ता खेल संघीय राजनीति नै हल्लाउने अवस्था सिर्जना भएको बताइरहेका छन् । अहिले सिंहलाई समर्थन दिने वा नदिने प्रश्नमा एमाले, कांग्रेस र लोसपाको भूमिका निर्णायक बन्ने देखिन्छ ।
मधेशको १ सय ७ सदस्यीय प्रदेशसभामा अहिले सिंहको भविष्य गठबन्धन दलको अन्तिम निर्णयमा टाँसिएको छ ।
