Tuesday, December 23, 2025
गृहपृष्ठ

मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम अन्तिम समयमा हटाइएको छ।

काठमाडौँ — मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम अन्तिम समयमा हटाइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गर्दै पाँच जनाको नाम राष्ट्रपति कार्यालय पठाएकी थिइन्। तर नागरिकता विवाद र अनियमिततासम्बन्धी प्रश्न उठेपछि आज बिहानै उनको नाम सूचीबाट काटिएको छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार, “हिजोको सूची सच्याएर आज चार मन्त्रीको मात्र नाम पठाइएको हो। मिश्रको नाम हटाइएको छ।”

अब दिउँसो २ बजे शीतल निवासमा हुने शपथ समारोहमा उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेल मात्र सहभागी हुनेछन्। स्वास्थ्य मन्त्रालय भने अहिले खाली राखिएको छ।

डा. मिश्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व समेत गरिसकेकी छन्।

यसअघि नै रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह, कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री बनिसकेका छन्।

जेन-जी विद्रोहपछि एमाले नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका हुन्। संसद् विघटनसँगै आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने घोषणा भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *