Saturday, January 31, 2026
गृहपृष्ठ

गगन थापा कांग्रेस फोड्दै वा छोड्दै ? आन्तरिक संघर्षले नेपाली राजनीति तातियो

जेन–जी विद्रोहपछिको राजनीतिक तरंगले देशकै पुरानो दल नेपाली कांग्रेसलाई भित्रैदेखि हल्लाइरहेको छ। सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा पक्षबीचको अन्तर्कलह सतहमै आउन थालेपछि कांग्रेसभित्र विभाजन वा नयाँ दल गठनसम्मको सम्भावना खुलेको छ।

गगन थापापक्ष निकट सहयोगी जुगल भुर्तेलले फेसबुकमा लेख्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित विशेष महाधिवेशन बोलाउन सक्ने संवैधानिक व्यवस्था स्मरण गराएका छन्। उनका अनुसार यदि नेतृत्व परिवर्तनका लागि दबाब बेवास्ता गरियो भने गगन थापापक्षले कांग्रेस छोड्न वा नयाँ लोकतान्त्रिक पार्टी बनाउने विकल्प रोज्न सक्नेछ।

स्रोतका अनुसार गगन थापा सोमबारदेखि देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गर्न लागेका छन्। थापाले ४० मात्र होइन, ६० प्रतिशतसम्म महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा उभिने विश्वास व्यक्त गरेका छन्। तर देउवापक्ष भने समयमै महाधिवेशन नबोलाई चाडपर्वको लहरमा आन्दोलनको तातो सेलाउने रणनीतिमा देखिएको छ।

यसबीच शेखर कोइराला समूह अन्योलमा रहेको छ भने देउवापक्षका वरिष्ठ नेताहरू प्रतिरक्षात्मक भूमिका लिइरहेका छन्। परिस्थितिले चर्किए कांग्रेस मंसिरसम्म दुई भागमा विभाजित हुने वा नयाँ दल गठन हुने संकेत प्रस्ट हुँदै गएको छ।

कांग्रेसको यो आन्तरिक शक्ति संघर्षले मुलुकको राजनीतिक दिशामा ठुलो प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ। चाडपर्वपछि परिस्थितिले अझै रोमाञ्चक मोड लिन सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *