पर्सा–१ मा जनमत पार्टीको चुनावी अभियान तीव्र, ओमप्रकाश सर्राफद्वारा एक हप्तामै ९ वडामा जनसम्पर्क

पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस गरिएका उम्मेदवार ओमप्रकाश सर्राफले पछिल्लो एक हप्ताभित्र वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २, १४, १५, १६, १८, २१, २३, ३१ र ३२ मा पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग व्यापक भेटघाट गरेका छन्। सो क्रममा उनले बुथस्तरमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गर्दै संगठन विस्तारमा जोड दिएका छन्।
संगठनलाई थप मजबुत बनाउने उद्देश्यले स्थानीय स्तरमै जिम्मेवारी बाँडफाँड गरिएको र जनमत पार्टीको आधार विस्तारमा केन्द्रित भएर अभियान सञ्चालन भइरहेको सर्राफले बताए। उनले जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा आधारभूत पूर्वाधारलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे।
भेटघाटका क्रममा स्थानीय बासिन्दाले उठाएका समस्या सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहल गरिएको क्षेत्र नम्बर १ का पर्यवेक्षक डा. मनोज कुमारले जानकारी दिए। उनका अनुसार जनमत पार्टीले घरदैलो अभियान, बुथस्तरीय बैठक तथा जनसंवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ।
सर्राफले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतको भिजन र नेतृत्वले मात्र मधेश, प्रदेश तथा देशको समग्र विकास सम्भव हुने दाबी गर्दै वैकल्पिक राजनीतिक धारका रूपमा जनमत पार्टीलाई स्थापित गर्न कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल बढ्दै गएको छ भने जनमत पार्टीले संगठनात्मक सक्रियतामार्फत आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लगेको देखिन्छ। भेटघाट टोलीमा विध्यालाल प्रसाद, सिए देवराज, निराजन कुशवाहा, नागेन्द्र गुप्ता, सहनवाज राकी लगायतको सक्रिय सहभागिता रहेको थियो।
