Wednesday, June 10, 2026
गृहपृष्ठ

सिरहामा जफत गरिएका करोडौँका मोबाइल फोन नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका परीक्षार्थीहरूको करोडौँ रुपैयाँ बराबरका मोबाइल फोनहरू गैरकानुनी रूपमा पानीको ड्रममा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्च
अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता अनिल कुमार साह तथा प्रभावित विद्यार्थीहरूको तर्फबाट दायर गरिएको रिटमा सम्बन्धित प्रशासनिक निकायको उक्त कार्यलाई क्रूर, स्वेच्छाचारी तथा कानुनी शासनको मर्मविपरीत भएको उल्लेख गरिएको छ।
रिट निवेदनमार्फत मोबाइल फोन नष्ट गर्ने निर्णय तथा कार्यान्वयनमा संलग्न पदाधिकारीहरूमाथि विभागीय तथा प्रचलित कानुनबमोजिम फौजदारी कारबाही गर्न माग गरिएको छ। साथै, प्रभावित विद्यार्थीहरूलाई भएको आर्थिक तथा मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतसमक्ष आग्रह गरिएको छ।
रिटमा जफत गरिएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी नष्ट गर्नु नागरिकको सम्पत्तिमाथिको अधिकार तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको दाबी गरिएको छ। यस घटनाले सार्वजनिक निकायको अधिकार प्रयोग, जवाफदेहिता तथा कानुनी प्रक्रियाको पालना सम्बन्धी विषयलाई गम्भीर रूपमा उठाएको निवेदक पक्षको भनाइ छ।
उक्त घटनासम्बन्धी रिटमाथि सर्वोच्च अदालतले के निर्णय गर्ने भन्ने विषयलाई चासोका साथ हेरिएको छ। यस घटनाले राज्यका निकायले जफत गरिएका सामग्रीको व्यवस्थापन तथा नागरिक अधिकारको संरक्षणसम्बन्धी बहसलाई समेत थप तीव्र बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *