Saturday, November 8, 2025
गृहपृष्ठ

देशभर मनसुनी वायुको प्रभाव, कोशी–मधेसमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १९
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधारण बदली, र बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।

काठमाडौँ उपत्यकामा ठूलो वर्षा पार्ने प्रणाली कमजोर बनेपछि तत्काल उच्च जोखिम हटेको विभागले जनाएको छ। अहिले उक्त प्रणाली कोशी प्रदेशतिर सरेको छ।

आइतबार बिहानदेखि काठमाडौँमा घाम लागेसँगै जनजीवन सामान्य बन्दै गएको छ भने त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान पनि पुनः सुरु भएका छन्। तर, सडकमार्गबाट हुने लामो दूरीका यात्रा भने रोकिएका छन्। यातायात व्यवसायीहरूले टिकट रकम यात्रुलाई फिर्ता गर्न थालेका छन्।


प्रदेशगत स्थिति

•  कोशी र मधेस प्रदेश — धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना
•  बागमती, लुम्बिनी प्रदेश — साधारण बदली र केही स्थानमा हल्का वर्षा
• बाँकी प्रदेशहरू — आंशिक बदली, थोरै स्थानमा वर्षा

महाशाखाले विशेष गरी कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ।


नदीहरूमा बाढीको जोखिम

अविरल वर्षाका कारण देशका विभिन्न ८ वटा प्रमुख नदीले खतराको तह पार गरेका छन्।
तीमध्ये बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला (सुनसरी), बिरिङ खोला (झापा) लगायतका नदीमा जलसतह खतरातहभन्दा माथि पुगेको विभागको तथ्याङ्कले देखाउँछ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ।

कोशी प्रदेशमा: अधिकांश नदीहरूमा जलसतह बढ्दो क्रममा

बागमती र मधेस प्रदेशमा: केही क्षेत्रमा स्थिर, केहीमा घट्दो अवस्था


अन्य सबै नदीनालाहरूमा बहाव सतर्कता तह नजिक पुगेको चेतावनी पनि जारी गरिएको छ।


बाढी जोखिम अवधि

उच्च जोखिम: आज बेलुकीसम्म

मध्यम जोखिम: सोमबार बिहानसम्म कायम रहन सक्ने


विभागका अनुसार कोशी प्रदेशमा अझै केही घण्टा मध्यमदेखि भारी वर्षा जारी रहन सक्ने सम्भावना छ।
बागमती र मधेस प्रदेशमा भने वर्षाको तीव्रता विस्तारै घट्दै गएको देखिएको छ।


सावधानीका लागि सन्देश

विभागले नदी आसपासका बस्ती, तटीय क्षेत्रका बासिन्दा, यात्रु र कृषकहरूलाई बाढीको जोखिमबाट सचेत रहनु, अनावश्यक यात्रा नगर्नु, र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *