भारतले दुर्गा प्रसाईंको राजनीतिक गतिविधिसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ

क्यान्सर उपचारको फलोअपका लागि भन्दै हाल दिल्लीमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिएर भारतले आफ्नो राजनीतिक सरोकार नरहेको स्पष्ट पारेको छ।
प्रसाईंले भारत भ्रमणलाई नेपाली राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि भारतीय नेताहरूबाट नैतिक समर्थन जुटाउने प्रयासको रूपमा प्रस्तुत गर्दै आएका छन्। तर भारतीय अधिकारीहरूले प्रसाईंका गतिविधिहरूमा कुनै संलग्नता वा चासो नराखेको बताएका छन्। भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार, भारत नेपालको आन्तरिक राजनीतिमा कुनै हस्तक्षेप नगर्ने नीतिमा अडिग रहेको छ।
स्रोतका अनुसार, दिल्लीका अधिकारीहरूले प्रसाईंलाई भारतमा रहँदा कुनै राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन्। प्रसाईंले यसपटक कुनै पनि भारतीय सरकारी वा दलका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको पनि पुष्टि भएको छ।
प्रसाईंले आगामी मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्ने र त्यसपछि देशभर विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।
भारतीय अधिकारीहरूले भने प्रसाईंका “भारतले साथ दिएको” भन्ने दाबीहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
