Tuesday, December 23, 2025
गृहपृष्ठ

संविधान दिवसमा वीरगन्जमा जनमत पार्टीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली, जेन्जी आन्दोलनका सहिदलाई समेत सम्झना

वीरगन्ज, असोज ३ ।
संविधान दिवसको अवसरमा जनमत पार्टी पर्साले वीरगन्जस्थित सहिद स्मारकमा विशेष कार्यक्रम आयोजना गरी सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। कार्यक्रममा जेन्जी आन्दोलनका सहिदहरुप्रति मौन धारण गर्दै श्रद्धा सुमन अर्पण गरिएको थियो।

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले संविधान दिवसकै दिन सम्बोधन गर्दै वर्तमान संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला भएको बताएका छन्। उनले संविधानमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अधिकार सम्पन्न प्रदेश र राज्यका हरेक अंगमा समानुपातिक सहभागिता सुनिश्चित गर्न अझै संघर्ष आवश्यक रहेको जोड दिए।
उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सबै संवैधानिक अंग तथा आयोगमा प्रतिस्पर्धा मार्फत नियुक्ति हुनु जनमत पार्टीको नौलो गणतान्त्रिक विचारधाराको मुख्य आधार हो। सरार्फले जेन्जी आन्दोलनका मागहरूको दिगो समाधानका लागि जनमत पार्टी दुई वर्षदेखि निरन्तर आन्दोलनरत रहेको पनि स्मरण गराए।

कार्यक्रममा केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम गुप्ता, श्याम शंकर चौरसिया, सन्तोष साह, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, महानगर अध्यक्ष महादेव शर्मा, सचिव लोकेश कर्ण, क्षेत्र नम्बर २ संयोजक शशी देव यादव, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिंह, उपाध्यक्ष संजय सरार्फ, हिरालाल राम, बिकाश गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संविधान दिवसकै दिन सहिदप्रति श्रद्धाञ्जलीसहित जनमत पार्टीले आफ्नो नौलो गणतान्त्रिक विचारधारा र जेन्जी आन्दोलनका मागप्रति दृढ प्रतिबद्धता प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *